कञ्चनपुरमा भारततर्फ लैजाँदै गरेका ७० हजारका बाख्रा बरामद

प्रकाशित मिति:

महेन्द्रनगर । गैरकानुनी रूपमा भन्सार छली भारततर्फ निकासी गर्न लागिएको अवस्थामा कञ्चनपुर प्रहरीले करिब ७० हजार रुपैयाँ मूल्य बराबरका बाख्रा बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११, चौकीसत्तास्थित सीमावर्ती इलाकामा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको नियमित गस्ती टोलीले बुधबार दिउँसो ती बाख्रा नियन्त्रणमा लिएको हो। प्रहरी टोलीलाई टाढैबाट देखेपछि ओसारपसारमा संलग्न व्यक्तिहरू बाख्रालाई बेवारिसे अवस्थामा छाडेर फरार भएको प्रहरीको भनाइ छ।

नियन्त्रणमा लिइएका बाख्राहरूको आवश्यक मुचुल्का तयार पारी थप कानुनी कारबाही तथा लिलामी प्रक्रियाका लागि कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। फरार तस्कर समूहको पहिचान खुलाउन सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ।

ताजा समाचार