क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खुल्यो, एक साताभित्र बेलिब्रिज जोड्ने लक्ष्य

प्रकाशित मिति:

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त बनेको रसुवा जोड्ने मुख्य गल्छी–बेत्रावती सडकखण्डमा नयाँ ट्र्याक खुलाइएको छ। ट्र्याक खुलेसँगै उक्त खण्डमा सर्वसाधारणको आवतजावत पुनः सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

मन्त्री लम्सालको सचिवालयका अनुसार ट्र्याक खुलिसके पनि सडकको ग्रेड मिलाउने तथा ग्राभेल हाल्ने कार्य भने जारी रहेको छ। सडक मर्मत तथा स्तरोन्नति भइरहेका बेला अत्यधिक सवारी आवागमन हुँदा निर्माण कार्य प्रभावित हुने भएकाले काम सम्पन्न नहुन्जेल आवश्यक सहजीकरण गरिदिन मन्त्री लम्सालले आग्रह गरेका छन्।

ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै अवरुद्ध सडकलाई स्थायी रूपमा जोड्न बेलिब्रिज जडान प्रक्रिया अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको र नेपाली सेनाको प्राविधिक सहयोगमा पुल जडानको तयारी थालिएको छ। यता रसुवातर्फको फाउन्डेसन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ। आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको मन्त्रालयले जनाएको छ।

बाढीका कारण सडक र पुल बगाउँदा रसुवासँगको सीधा सडकमार्ग लामो समयदेखि प्रभावित हुँदै आएको थियो। ट्र्याक खुलेसँगै तत्कालका लागि राहत पुगेको छ भने बेलिब्रिज निर्माण सम्पन्न भएपछि सवारी आवागमन थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

ताजा समाचार