काठमाडौं । विगतमा स्मरण शक्तिका दाबीका कारण सामाजिक सञ्जालमा व्यापक चर्चा र विवादमा आएका युवा विजय शाहीले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा तेस्रोपटक नाम दर्ता गराउँदै ह्याट्रिक पूरा गरेका छन्।
एक मिनेटको निर्धारित समयमा सबैभन्दा धेरै वस्तुहरूको क्रम स्मरण गर्ने विधामा शाहीले नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्। गिनिज वर्ल्ड रेकर्ड्सको आधिकारिक वेबसाइटमा जनाइएअनुसार उनले एक मिनेटभित्र ७० वटा वस्तुलाई शतप्रतिशत सही क्रममा स्मरण गरी सुनाउन सफल भएका थिए। यसअघि सन् २०२२ मा डा. नवल पजियारले ५९ वटा वस्तु स्मरण गरेर राखेको कीर्तिमानलाई शाहीले चार वर्षपछि भङ्ग गरेका हुन्।
यो विजय शाहीको नाममा दर्ता भएको तेस्रो आधिकारिक गिनिज रेकर्ड हो। यसअघि उनले सन् २०२१ मा एक मिनेटमा १५० वटा ‘नन बाइनरी’ अङ्क स्मरण गरेर पहिलोपटक गिनिजमा नाम लेखाएका थिए, जसको आधिकारिक प्रमाणपत्र अध्ययन र छानबिनपछि गत अगस्टमा प्राप्त भएको थियो। त्यस्तै, सन् २०२५ अक्टोबरमा २७ मिनेट ३ सेकेन्डसम्म निरन्तर ‘उर्ध्व पद्मासन’ गरी उनले योग विधामा दोस्रो विश्व कीर्तिमान बनाएका थिए।
विगतका शङ्का र आलोचनालाई चिर्दै पछिल्लो समय उनी आधिकारिक मापदण्डअनुसार विश्व रेकर्ड राख्ने अभियानमा लागेका छन्। हाल काठमाडौँमा ‘मेमोरी किङ अफ इन्स्टिच्युट’ सञ्चालन गर्दै आएका शाहीले चौथो विश्व कीर्तिमानको घोषणा पनि चाँडै हुने जनाएका छन्।




