काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको खस्कँदो गुणस्तरप्रति गम्भीर चासो व्यक्त गर्दै नेपाल दूरसञ्चार प्राधिकरणसँग विस्तृत जानकारी माग गरेका छन्। टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको भन्दै उपभोक्ताको गुनासो बढिरहेका बेला मन्त्री तिमिल्सिनाले बिहीबार प्राधिकरणका पदाधिकारीलाई मन्त्रालयमा डाकेर सेवाको अवस्था, परीक्षण, नियमन तथा सेवा विस्तारबारे जानकारी लिएका हुन्।
सञ्चार सचिव राजेन्द्रकुमार पौडेल र प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलगायतका पदाधिकारी सहभागी बैठकमा मन्त्री तिमिल्सिनाले काठमाडौँ उपत्यका जस्तो सुगम क्षेत्रमा समेत टेलिफोन र इन्टरनेट सेवा भरपर्दो नहुनु चिन्ताको विषय भएको बताए। नागरिकले अपेक्षा गरेअनुसार गुणस्तरीय सेवा प्रवाह गर्न नियामक निकाय र सेवा प्रदायक दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उनले गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेस गर्न निर्देशन दिए।
छलफलका क्रममा प्राधिकरणका पदाधिकारीले गुणस्तर परीक्षणका लागि आवश्यक सवारीसाधन र ‘ड्राइभ टेस्ट’ उपकरण पर्याप्त नभएको तथा खरिद प्रक्रियामा विगतमा परेका कानुनी उल्झनका कारण अनुगमनमा केही समस्या रहेको जानकारी गराएका थिए।
प्राधिकरणका अध्यक्ष घिमिरेले देशभर नियमित अनुगमन भइरहेको बताउँदै गुणस्तरहीन सेवा दिने कम्पनीहरूलाई यसअघि सचेत गराइसकिएकाले अब कानुनबमोजिम जरिबाना तथा कडा कारबाही प्रक्रिया अगाडि बढाइने स्पष्ट पारे। बैठकमा प्राधिकरणको स्तरीकरण महाशाखाका निर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक सुगन शाक्यलगायतको उपस्थिति रहेको थियो।




