गौरीगङ्गामा ज्यान लिएको बाघ धनगढीको वन क्षेत्रमा पुगेको आशंका : सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति:

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकामा एक स्थानीयको ज्यान लिएको बाघ धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित वन क्षेत्रमा पुगेको आशंका गरिएको छ। स्थानीय उपभोक्ता कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएपछि डिभिजन वन कार्यालय कैलालीको टोलीले खोजी तथा निगरानी तीव्र बनाएको थियो।

खोजीका क्रममा धनगढी–१७ स्थित सिद्धबाबा सामुदायिक वन तथा भारताल साझेदारी वन क्षेत्रमा बाघका नयाँ पाइला (पगमार्क) फेला परेको वन कार्यालयले जनाएको छ।

बाघको चहलपहल देखिएपछि भारताल वनको कोर क्षेत्रअन्तर्गत पर्ने धनगढी उपमहानगरपालिकाका वडा नम्बर १४, १५, १६, १७ र १८ तथा कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ का जनप्रतिनिधि र स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचित गरिएको छ।

डिभिजन वन कार्यालयको प्राविधिक टोलीले सम्भावित क्षेत्रमा निगरानी बढाइरहेको छ। जङ्गल क्षेत्रमा बाघ सक्रिय रहेकाले घाँस-दाउरा गर्न एक्लै वन नपस्न, बस्तीछेउछाउ रातिको समयमा अनावश्यक हिँडडुल नगर्न र विशेष सावधानी अपनाउन वन कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको छ।

ताजा समाचार