पर्वत । अविरल वर्षापछिको बाढीपहिरोले पर्वत जिल्लाका विभिन्न बस्तीहरूमा ठूलो वितण्डा मच्चाएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार जिल्लाका सात पालिकामध्ये छ वटा पालिकामा बाढीपहिरोका कारण १७० घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३०० परिवार विस्थापित बनेका छन्।
बाढीपहिरोले जिल्लाभर थप १३१ घरमा आंशिक क्षति पुर्याएको छ। सबैभन्दा बढी प्रभावित जलजला गाउँपालिकामा मात्रै ११३ घर पूर्ण रूपमा नष्ट भएका छन् भने ५८ घर पहिरोको उच्च जोखिममा छन्। जलजलाबाट मात्रै १७१ परिवार विस्थापित भई सुरक्षित स्थानतर्फ सरेका छन्। यसैगरी फलेवासमा २०, मोदीमा १५, बिहादीमा नौ तथा कुश्मा र महाशिलामा दुई–दुई घर पूर्ण रूपमा भत्किएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिएका छन्।
विपद्का कारण पाँच वटा विद्यालय भवन, स्वास्थ्य चौकी, प्रहरी चौकी, कृषि फार्म तथा मन्दिरका संरचनामा क्षति पुगेको छ। पर्वत–बागलुङ जोड्ने प्रसिद्ध झोलुङ्गे पुल र मध्यपहाडी लोकमार्गअन्तर्गतको मालढुङ्गा पुलसमेत क्षतिग्रस्त बनेका छन्। कालीगण्डकी लोकमार्गका विभिन्न खण्ड अवरुद्ध रहेकाले सडक सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने बताइएको छ।
बाढीपहिरोबाट प्रभावित तथा विस्थापित परिवारहरूलाई स्थानीय प्रशासन, सम्बन्धित पालिका तथा नेपाल रेडक्रस सोसाइटीलगायतका सामाजिक संघसंस्थाको समन्वयमा त्रिपाल, खाद्यान्न, लत्ताकपडा र औषधिजन्य सामग्री उपलब्ध गराई अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ।




