काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा भाग लिन फिजी पुगेका छन्।
फिजी र टुभालुमा असोज १९ र २० गते सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ गएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमण तालिकाअनुसार मन्त्री खनालले असोज २० गते आयोजना हुने ‘लिडर्स प्लेनरी’ (पूर्ण सत्र) मा सम्बोधन गर्नेछन्। सो सत्रअगाडि उनी पलाउका राष्ट्रपतिसहित अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीको उपस्थिति रहने सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्। नेपालको यस सहभागिताले हिमाली देशका चुनौती, जलवायु परिवर्तनको प्रभाव र जलवायु न्यायका मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
फिजी र टुभालुको कार्यक्रम सम्पन्न गरी मन्त्री खनाल अस्ट्रेलिया जानेछन्। उनले असोज २२ गते अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय हित र सहकार्यका विषयमा वार्ता गर्ने तालिका छ। साथै, क्यानबेरास्थित दूतावास र सिड्नीमा नेपाली डायस्पोराले आयोजना गर्ने कार्यक्रममा सहभागी भई उनी असोज २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।




