काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको अनलाइन भुक्तानी प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।
हेटौँडामा विद्युत् डिभिजन कार्यालय प्रमुखहरूसँग भएको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले सूचना प्रविधिको विकास भइसक्दा पनि नागरिक महसुल तिर्न कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताए। प्राधिकरण सञ्चालक समितिबाट ‘डिजिटल पेमेन्ट’ विस्तारसम्बन्धी योजना स्वीकृत भइसकेको उल्लेख गर्दै उनले यसलाई तल्लो तहसम्म अभियानकै रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।
विद्युतीय भुक्तानीको विस्तार दर गत वर्ष एक प्रतिशतभन्दा बढ्न नसक्नु गम्भीर विषय भएको बताउँदै उनले उपभोक्तामाझ यसबारे सचेतना अभिवृद्धि गर्न प्राधिकरणलाई आग्रह गरे। डिजिटल माध्यमको प्रयोगले नागरिकको समय र लागत बचत हुनुका साथै कार्यालयको कर्मचारी व्यवस्थापनमा पनि सहजता आउने उनको भनाइ थियो।
यसैगरी, विद्युत् चुहावट नियन्त्रण तथा संरचना संरक्षण सबैको साझा दायित्व भएको भन्दै मन्त्री श्रेष्ठले पोल पुनर्निर्माण, मर्मतसम्भार र नियमित गस्ती बढाउन डिभिजन प्रमुखहरूलाई निर्देशन दिए। उनले सुशासन र शासकीय सुधारलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न पनि कर्मचारीलाई सचेत गराए।




