दार्चुला । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले दार्चुलाको विकट मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ। नयाँ टावर सञ्चालनमा आएसँगै मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाले प्रत्यक्ष रूपमा गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच पाएका छन्।
स्थानीयको आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको र यसबाट अपि हिमाल आरोहण तथा पदयात्रामा जाने पर्यटकहरूलाई समेत भरपर्दो सञ्चार सुविधा पुग्ने एनसेलले जनाएको छ। एनसेलकी हेड अफ नेटवर्क लेना केसरी कंसाकारले सुगमदेखि दुर्गमसम्म सेवा पुर्याउने प्रतिबद्धताअनुसार यो सेवा विस्तार गरिएको बताइन्। हाल देशभर ४ हजार ५०० भन्दा बढी टावरमार्फत सेवा दिइरहेको एनसेलको यस नयाँ पूर्वाधारले दुर्गम हिमाली क्षेत्रको सञ्चार पहुँच र पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ।




