काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारिता अनिवार्य सर्त भएको बताउनुभएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान, कानुन र कार्यविधिको दायराभित्र रहेर निष्पक्ष रूपमा जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो।
कुनै पनि अनुचित प्रभावमा नपरी नागरिक भावनाअनुरूप कार्यसम्पादन गर्न आग्रह गर्दै उहाँले अपराध नियन्त्रण तथा तथ्यपरक अनुसन्धानका लागि आधुनिक सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। सरकार प्रहरी सङ्गठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नवदीक्षित ७९ जना प्रहरी निरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।






