दसैँ मनाउन गाउँ फर्किनेको घुइँचो : २४ घण्टामा ५६ हजार यात्रु उपत्यकाबाट बाहिरिए

प्रकाशित मिति:
spot_img

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप तीव्र रूपमा बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा रहेका नागरिक चाडपर्व मनाउन गाउँ फर्कन थालेसँगै उपत्यकाका विभिन्न नाकामा चहलपहल बाक्लिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको २४ घण्टामा विभिन्न नाका भएर ५६ हजार ८०९ यात्रु बाहिरिएका छन्। कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार नागढुङ्गा नाकाबाट सबैभन्दा बढी २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ यात्रु बाहिरिएका छन्। यस्तै, फर्पिङबाट पाँच हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोटबाट ५६ जनाले उपत्यका छाडेका छन्।

यात्रुको चाप बढे पनि बिग्रिएका सडकका कारण सवारीसाधन व्यवस्थापनमा चुनौती देखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले राष्ट्रिय राजमार्गहरूको खराब अवस्थाले गर्दा सवारीसाधन समयमा गन्तव्यमा पुग्न र फर्कन ढिलाइ भइरहेको बताएका छन्। असोज २३ गते धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिँदा सवारीसाधन रोकिन पुगेकाले थप समस्या भएको उनको भनाइ छ। महासङ्घले तोकिएको भाडा मात्र तिर्न, आधिकारिक टिकट काटेर तथा सवारीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

spot_img

ताजा समाचार