काठमाडौं । गोरखाको चुमनुब्रीस्थित बुढीगण्डकी नदीमा गेग्रानसहितको आकस्मिक बाढी आउनुमा हिमपहिरो, सुक्खा पहिरो र भूकम्पको कम्पनलगायत बहुपक्षीय कारण रहेको पाइएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेषज्ञ टोलीले गरेको प्रारम्भिक अध्ययनले यस्तो तथ्य देखाएको हो।
जियोलोजिस्ट डा. प्रकाश पोखरेल नेतृत्वको टोलीले गरेको स्थलगत तथा ड्रोन अध्ययन अनुसार तामार र सिरिङ्गे हिमालको बीचमा बग्ने स्यार खोलामा सुरुमा चट्टानसहितको हिमपहिरो खसेको थियो। त्यसलगत्तै आएको सुक्खा पहिरोले खोला करिब डेढ घण्टा थुनेको थियो। खोला थुनिएर बनेको प्राकृतिक बाँध एक्कासि नफुटी क्रमिक र पटक–पटक खुलेका कारण ठूलो परिमाणमा पानी तल्लो तटीय क्षेत्रमा एकैपटक झर्न नपाएको र सम्भावित ठूलो विनाश टरेको प्रतिवेदनमा उल्लेख छ। सोही समय आसपास त्यस क्षेत्रमा ४.२ रेक्टर स्केलको भूकम्पसमेत मापन गरिएको थियो।
भूगर्भविद्हरूका अनुसार हिमाली क्षेत्रको कमजोर भू–बनोट, चट्टानसहितको हिमपहिरो र थुनिएको नदी फुट्दा ठूलो मात्रामा माटो, बालुवा र ढुङ्गा बग्ने भएकाले यस्तो बाढी सामान्यभन्दा निकै जोखिमपूर्ण हुने गर्दछ। यसैबीच, बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले सोमबार हवाई तथा स्थल मार्गमार्फत ३२१ जनाको सकुशल उद्धार गरेको छ भने ६ हजार १७० किलोग्राम राहत सामग्री ढुवानी गरेको छ।






