काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै देशव्यापी हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ।
पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको उक्त अभियान रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित गरिएको थियो। पार्टीका सचिव केदार खड्काका अनुसार नागरिकको उत्साहपूर्ण सहभागितालाई मध्यनजर गर्दै अभियानलाई निरन्तरता दिने निर्णय गरिएको हो।
पार्टीले सम्पूर्ण प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेता–कार्यकर्ताहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा तत्काल हस्ताक्षर सङ्कलन अभियानलाई तीव्रता दिन आह्वानसमेत गरेको छ।






