काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा वाणिज्य बैंकहरूको खुद नाफा ७.३२ प्रतिशतले बढेर १७ अर्ब ८१ करोड रुपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले १६ अर्ब ५९ करोड रुपियाँ नाफा आर्जन गरेका थिए।
समीक्षा अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटा बैंकको नाफा बढेको छ भने सात वटा बैंकको नाफा घटेको छ। खुद नाफा रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहँदै एक अर्ब ८० करोड रुपियाँ आर्जन गरेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले एक अर्ब ६९ करोड रुपियाँ नाफा कमाएको छ।
तेस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एक अर्ब २७ करोड, प्राइम कमर्सियल बैंकले एक अर्ब १४ करोड र राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ११ करोड रुपियाँ खुद नाफा कमाएका छन्। प्रतिशतका आधारमा भने हिमालयन बैंकले सबैभन्दा बढी ५५.१३ प्रतिशतले नाफा वृद्धि गरेको छ।






