घटस्थापनायता २ लाख ६२ हजार यात्रुले छाडे काठमाडौँ

प्रकाशित मिति:
spot_img

काठमाडौं । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप तीव्र बनेको छ। घटस्थापनादेखि बिहीबारसम्मको अवधिमा कुल दुई लाख ६२ हजार ७५३ जना यात्रुले उपत्यका छाडेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेका अनुसार सो अवधिमा ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रुहरू बाहिरिएका हुन्। उपत्यका छाड्नेमा एक लाख ६१ हजार १६७ पुरुष र एक लाख १५ हजार ८६ महिला रहेका छन्।

दसैँ मनाउन नागरिकहरू धमाधम जन्मथलो फर्किन थालेपछि नयाँ बसपार्कसहित नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका मुख्य नाकाहरूमा सवारीसाधन र यात्रुको बाक्लो चहलपहल देखिएको छ। चाडपर्वका बेला दुर्घटना न्यूनीकरण र सहज यात्राका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा परिचालन गरिएको एसएसपी काफ्लेले जानकारी दिएका छन्।

यता यातायात व्यवस्था विभागका अनुसार हाल नागढुङ्गा–नौबिसे, मुग्लिन–नारायणगढ, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका प्रमुख सडक खण्डहरूमा दुवैतर्फ निर्वाध रूपमा यातायात सञ्चालन भइरहेको छ।

ताजा समाचार