काठमाडौं । वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक जागरण र राष्ट्रिय एकताको सन्देशसहित आगामी कात्तिक ८ देखि ३० गतेसम्म राष्ट्रव्यापी ‘मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा–२०८३’ सञ्चालन हुने भएको छ। मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सङ्कल्पअनुसार आयोजना हुन लागेको यस रथयात्राले देशका प्रमुख धार्मिक तथा तीर्थस्थलहरूलाई एक सूत्रमा जोड्नेछ।
मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार यस यात्राले पवित्र मुक्तिनाथ, कालीगण्डकी र मुक्तिक्षेत्रको महिमा उजागर गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनेछ। कात्तिक ८ गते मुक्तिनाथबाट सुरु हुने रथयात्रा बेनी, पोखरा, काठमाडौँ, भक्तपुर, सिन्धुली हुँदै कात्तिक १३ गते चतराधाम पुग्नेछ। त्यसपछि झापा, मोरङ, जनकपुर, हेटौँडा, चितवन, बुटवल, नेपालगञ्ज, कैलाली हुँदै कात्तिक २५ गते कञ्चनपुरको महेन्द्रनगर पुग्ने तालिका छ।
महेन्द्रनगर र धनगढी हुँदै अघि बढ्ने यात्रा सुर्खेत, दाङ र भैरहवा परिक्रमा गरी कात्तिक ३० गते नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर विधिवत् समापन हुनेछ। त्यसलगत्तै मङ्सिर १ देखि २९ गतेसम्म त्रिवेणीधाममा ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३’ आयोजना गरिने जनाइएको छ।






