काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण नागरिकको आवतजावतलाई सहज बनाउन दुई वटा बसमार्फत निःशुल्क सेवा सञ्चालन गरेको छ। दसैँको समयमा उपत्यकामा सार्वजनिक सवारीसाधन अत्यन्तै न्यून चल्ने भएकाले नागरिकलाई सुविधा पुर्याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सोमबारदेखि सुरु भएको यो निःशुल्क बस सेवा आगामी तीन दिनसम्म सञ्चालन हुनेछ। बसहरू बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म तोकिएका विभिन्न रुटमा निरन्तर गुड्नेछन्।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकबाट छुट्ने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै चक्रपथ परिक्रमा गरी यात्रुलाई सेवा दिनेछ। यसैगरी हल्चोकबाटै छुट्ने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्कलगायत प्रमुख स्थानहरूमा सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गर्ने सशस्त्र प्रहरीले जनाएको छ।






