काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ।
राजस्थान प्रहरीको ‘एन्टी ग्याङस्टार टास्क फोर्स’ (एजीटीएफ) र कोटा प्रहरीको संयुक्त टोलीले सोमबार तीन जना मुख्य आरोपीलाई कोटा रेलवे स्टेसनबाट नियन्त्रणमा लिएको हो। प्रारम्भिक जानकारी अनुसार मुम्बईबाट दिल्लीतर्फ रेलमा सवार भएर भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो। पक्राउ परेका तीनमध्ये दुई जना हरियाणा र एक जना महाराष्ट्रका बासिन्दा रहेको तथा उनीहरू आक्रमणकारी समूहका प्रमुख सदस्य रहेको प्रहरीले जनाएको छ।
यसैगरी घटनामा संलग्न अर्का एक आरोपितलाई सोमबार नै महाराष्ट्र–गुजरात सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको छ भने एक जनालाई आइतबार नै प्रहरीले पक्राउ गरिसकेको थियो। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






