१२ गतेदेखि देशभर भारी वर्षाको सम्भावना, बिहीबारभित्रै धान थन्क्याइसक्नुपर्ने

प्रकाशित मिति:
spot_img

काठमाडौं । मनसुन बाहिरिसकेको अवस्थामा पनि बङ्गालको खाडीमा विकसित हुन लागेको शक्तिशाली चक्रवातका कारण आगामी कात्तिक १२ गतेदेखि देशका अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणाली सोमबारसम्ममा चक्रवातमा परिणत हुने जनाउँदै सतर्क रहन आग्रह गरेको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार तल्लो तहको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखाको प्रभावका कारण बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा लगातार झरी पर्ने देखिएको छ। विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म केही स्थानमा अति भारी वर्षा हुने प्रक्षेपण रहेकाले पाकेको धान खेतमै नष्ट हुने जोखिम बढेको छ।

झरीले बालीनालीमा ठुलो क्षति पुर्‍याउन सक्ने भएकाले पाकेको धान स्थानीय मौसमलाई ध्यानमा राखेर बिहीबारअगावै सुरक्षित रूपमा थन्क्याइसक्न किसानहरूलाई अनुरोध गरिएको छ। धान नकाटेका किसानलाई आइतबारसम्म नकाट्न र पाकिसकेको भए मङ्गलबारभित्रै भित्र्याउने योजना बनाउन सुझाव दिइएको छ। यस्तै, उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्ने भएकाले पदयात्रामा निस्कनेहरूलाई आधिकारिक मौसम सूचना नियमित हेरेर मात्र यात्राको योजना बनाउन मौसमविद् पोखरेलले सतर्क गराएका छन्।

spot_img

ताजा समाचार