घरायसी विवादमा श्रीमतीसहित चार जनामाथि खुकुरी प्रहार गर्ने सैनिक जवान पक्राउ

प्रकाशित मिति:
spot_img

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घरायसी विवादका कारण आफ्नै ससुराली परिवारका चार जनामाथि खुकुरी प्रहार गर्ने एक सैनिक जवानलाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी प्रहारबाट घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ।

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर तीन च्यास्मीटारस्थित जारबुङका तेतालीस वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा पुगेर गएराति अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन्। आक्रमणबाट उनकी चालिस वर्षीया श्रीमती अञ्जना राई, बैसठ्ठी वर्षीया सासू सेवन्ता राई, पच्चीस वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो।

घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा प्राथमिक उपचार भइरहेको छ। टाउकोको पछाडिपट्टि तथा हातमा गहिरो चोट लागेका श्रीमती अञ्जना, सासू सेवन्ता र साली टेमिनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। दाहिने हातमा चोट लागेका सालो नरेन्द्रको अवस्था भने मध्यम रहेको छ।

नेपाली सेनामा कार्यरत राई दसैँ बिदामा घर आएको बेला घरायसी विवादका कारण घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मध्यराति घटना घटाएर फरार भएका आरोपित राईलाई प्रहरी चौकी च्यास्मीटारको टोलीले राति नै नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

spot_img

ताजा समाचार