काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आज सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता, नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) को प्रयोग तथा विश्वप्रसिद्ध क्रिकेटरहरूको आगमनसँगै प्रतियोगिता थप भव्य र प्रतिस्पर्धात्मक बन्ने भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा आज साविक विजेता लुम्बिनी लायन्स र पछिल्ला दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धामा उत्रिँदै छन्। गत संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले हराएर उपाधि जितेको थियो। लुम्बिनी उपाधि रक्षाको सकारात्मक सुरुआत गर्ने दाउमा रहँदा सुदूरपश्चिम भने अघिल्लो हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रिने छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद एक करोड पचास लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छ। अघिल्लो संस्करणको विजेताले एक करोड दश लाख रुपियाँ प्राप्त गरेको थियो। उपविजेताले असी लाख, तेस्रो हुनेले चालिस लाख र चौथो हुने टोलीले तीस लाख रुपियाँ प्राप्त गर्ने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिता अवधिभर करिब एक सय पचास करोड रुपियाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।
यस पटक एनपिएलमा आठ फ्रेन्चाइज टोलीको सहभागिता छ। प्रतियोगितामा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल तथा दक्षिण अफ्रिकाका डेभिड मिलरजस्ता विश्वस्तरीय स्टार खेलाडीहरू विभिन्न टोलीमा आबद्ध छन्। सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै प्रतियोगिताको फाइनल आगामी मङ्सिर पाँच गते हुने छ।







