धनगढीः सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लालाई तराईसँग जोड्ने लाइफलाइनका रूपमा रहेको महाकाली राजमार्ग अन्तर्गत कैलालीको गोदावरी–खानीडाँडा सडकको बुढीतोला खण्ड भासिएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा पुनर्निर्माण हुन सकेको छैन। विसं २०८० साउन २३ गतेको भीषण वर्षापछि गोदावरी नगरपालिका–चार स्थित बुढीतोलामा भासिएको पाँच सय ७० मिटर सडकमा पहिरो नियन्त्रणको काम सम्पन्न भइसके पनि हालसम्म कालोपत्रे हुन नसक्दा दैनिक ओहोरदोहोर गर्ने हजारौँ यात्रु तथा स्थानीय बासिन्दाले चरम सास्ती भोग्न बाध्य भएका छन्। पहिरो गएको करिब एक महिनापछि अस्थायी मर्मत गरी यातायात सञ्चालन गरिए पनि स्थायी संरचना र कालोपत्रे नहुँदा धुलो र हिलोका कारण यात्रा जोखिमपूर्ण बन्दै आएको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार पटक–पटक मर्मत गर्दा पनि सडक नटिकेकाले सडक विभागको विज्ञ टोलीले प्राविधिक अध्ययन गर्दा जमिनमुनि ठूलो पानीको मुहान फेला परेको थियो। भूमिगत पानीको वैज्ञानिक व्यवस्थापन नगरी सडक बनाउँदा पुनः भासिने जोखिम रहेकाले पुनर्निर्माणमा समय लागेको जनाइएको छ। सोही निष्कर्षका आधारमा सात करोड ३८ लाख ७० हजार रुपैयाँको लागतमा पाँचवटा इनार निर्माण, सबसर्फेस ड्रेनेज, सडकको माथिल्लो भागबाट आउने पानी निकासका लागि दुई सयवटा पाइप जडान तथा बायो–इन्जिनियरिङ प्रविधि अपनाएर जमिन स्थिर बनाउने काम सम्पन्न गरिएको छ। तर, पहिरो रोकथामको चरण सकिएर गोदावरीको गाइमारेदेखि सहजपुरसम्मको २१ किलोमिटर सडक मर्मतका लागि गत पुसमै ठेक्का सम्झौता भइसके पनि निर्माण सामग्रीको मूल्यवृद्धिलाई कारण देखाउँदै निर्माण व्यवसायीले काम अघि बढाएका छैनन्। निर्माण व्यवसायीसँगको सहमति जुटे मंसिरसम्म र प्रक्रिया नमिले वैशाख–जेठसम्म मात्रै काम अगाडि बढ्न सक्ने प्राविधिकहरूको भनाइ छ।
विज्ञापन

विसं २०२९ सालमा ट्र्याक खोली २०४६ देखि कालोपत्रे सुरु भएर २०५२ सालमा सम्पन्न भएको यो राजमार्ग सुदूरपश्चिमको पहाडी भूगोलको मुख्य आर्थिक, व्यापारिक तथा पर्यटकीय मेरुदण्ड हो। कुल एक सय ३५ किलोमिटर लम्बाइ रहेको यस राजमार्गको ६९ किलोमिटर खण्ड कैलाली तथा ३३–३३ किलोमिटर खण्ड डोटी र डडेल्धुरा जिल्लामा पर्दछ। भरपर्दो वैकल्पिक मार्गको अभावमा वर्षौँदेखि जीर्ण अवस्थामा रहेको यो लाइफलाइन सडक समयमै स्तरोन्नति र पुनर्निर्माण हुन नसक्दा सिङ्गो पहाडी जनजीवन, आपत्कालीन स्वास्थ्य सेवा र आपूर्ति व्यवस्था नै पटक–पटक प्रभावित हुँदै आएको छ।






