एनपीएलमा आज दुई खेल: विराटनगर र चितवन तथा जनकपुर र कर्णाली भिड्दै

प्रकाशित मिति:
spot_img

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोज दिउँसो १२ः३० बजे आमनेसामने हुँदैछन्। यस्तै, साँझ ४ः३० बजे सुरु हुने दोस्रो खेलमा हर्मित सिंहको नेतृत्वमा रहेको जनकपुर र सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली भिड्नेछन्।

यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ। विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया, इमरान शेख, प्रतिक श्रेष्ठका साथै आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने र चरिथ असलंका जस्ता खेलाडी सामेल छन्। यता चितवनको टिममा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, विवेक यादव, मौसम ढकाल, विपिन रावल, गौतम केसीका साथै विदेशी खेलाडीहरू रवि बोपारा, सिकन्दर राजा, कलिम साना, हसन अली, सलाहुद्दिन खान र उसामा मीर रहेका छन्।

साँझको खेलमा प्रतिस्पर्धा गर्न लागेको जनकपुरको टोलीमा कप्तान हर्मित सिंहसहित कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दास, अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमद रहेका छन्। अर्कोतर्फ, कर्णालीको टोलीमा कप्तान सोमपाल कामी, डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, विपिनप्रसाद शर्मा, दिपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा र दिवान पुन समावेश छन्।

सोमबारदेखि सुरु भएको एनपीएलको समूह चरणका खेलहरू कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंसिर एक गते शीर्ष दुई टोलीबीच पहिलो क्वालिफायर, मंसिर दुई गते तेस्रो र चौथो टोलीबीच इलिमिनेटर, मंसिर तीन गते दोस्रो क्वालिफायर र मंसिर पाँच गते प्रतियोगिताको फाइनल खेल हुने तालिका रहेको छ।

विज्ञापन

spot_img

ताजा समाचार