कैलाली । कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने निर्णय खारेजीको माग गर्दै आउनुभएका प्रा. डा. गोविन्द केसीले सरकारलाई माग सम्बोधनका लागि थप दुई दिनको समय दिनुभएको छ।
यसअघि गत कात्तिक २ गते सरकारलाई सात दिनको अल्टिमेटम दिनुभएका डा. केसीले दसैँ बिदाका कारण सरकारलाई कार्यसम्पादनमा समय अपुग भएको भन्दै म्याद दुई दिन थप गर्नुभएको हो। थपिएको अवधिभित्र आफ्ना मागहरू सम्बोधन नभए सत्याग्रहसहित आन्दोलनका कडा कार्यक्रम सुरु गर्ने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी उहाँले दिनुभएको छ।
डा. केसीले न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटाको विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन अनुमति दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल खारेज गर्न माग गर्नुभएको छ। यसै गरी नेपाली आर्मी मेडिकल कलेजसहित विभिन्न मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णय बदर गर्नुपर्ने, निर्णय प्रक्रियामा संलग्न आयोग तथा विश्वविद्यालयका पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने र स्वार्थको द्वन्द्व देखिएका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने उहाँको माग रहेको छ।







