कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कस्थित एक होटलबाट प्रहरीले ४ किलोभन्दा बढी अवैध लागुऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको छविसपाथिभरा गाउँपालिका–६ बस्ने ३५ वर्षीय सुरेन्द्रबहादुर बुढा रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
बसपार्कस्थित ‘न्यू खप्तड सैपाल होटल’ मा लागुऔषधको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो। जाँचका क्रममा बुढा बसेको कोठाभित्र लुकाइछिपाइ राखिएको ४ किलो ३२४ ग्राम चरेश फेला परेपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो। पक्राउ परेका बुढामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






