काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सले काठमाण्डुलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ।
काठमाण्डुले दिएको ११६ रनको सामान्य विजयी लक्ष्य जनकपुरले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा ओपनिङ ब्याटर मोइन अलीले अर्धशतकीय पारी खेले। उनले ५१ बलको सामना गर्दै ३ चौका र ३ छक्कासहित अविजित ५८ रन जोडे। यस्तै सैफ हसनले ३९ बलमा अविजित ४० रन बनाए। तेस्रो विकेटका लागि मोइन र हसनबीच ७९ रनको अविजित साझेदारी भएको थियो।
त्यसअघि ७ रनमै ओपनर तृतराज दासलाई ५ रनमा र कुल ३७ रन जोड्दा मयन यादवलाई ९ रनमा गुमाएको जनकपुरको पारी यी दुई विदेशी खेलाडीले सम्हालेका थिए। काठमाण्डुका रिपोन मोन्डलले एक विकेट हात पारे भने अर्का ब्याटर रनआउट भएका थिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमै समेटिएको थियो। काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बल खेल्दै चार चौका प्रहार गरे। यस्तै रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन्। ओपनर साम हिजलेट १, हरिशंकर शाह ९, कप्तान करण केसी ८, जहानदाद खान ५, रिपोन मोन्डल ९ तथा शाहव आलम ४ रनमा अविजित रहे। मोहम्मद आदिल आलम पहिलो बलमै शून्य रनमा आउट भए।
काठमाण्डुलाई सस्तैमा समेट्न बलिङतर्फ जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। यस्तै सैफ हसनले २ विकेट हात पार्दा मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट लिए। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले यस जितसँगै अङ्क तालिकामा खाता खोलेको छ।






