कञ्चनपुरमा जङ्गली हात्तीको उपद्रो : अन्नबाली र घरगोठमा क्षति, स्थानीय रातभर जाग्राम

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न बस्तीमा जङ्गली हात्तीको उपद्रो बढेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। रातिको समयमा बस्तीमा पस्ने हात्तीको बथानले खेतबारीको अन्नबालीदेखि घरगोठसम्म क्षति पुर्‍याउन थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका हुन्।

जिल्लाको बेलडाँडी र लालझाडी गाउँपालिका तथा कृष्णपुर नगरपालिकाका विभिन्न क्षेत्रमा केही सातायता हात्तीको आवागमन तीव्र भएको छ। स्थानीयका अनुसार करिब २५ देखि ३० वटासम्मको सङ्ख्यामा आउने हात्तीको बथान दुई दिनको अन्तरालमा बस्तीमा पसेर खेतीपाती तथा भौतिक संरचनामा क्षति पुर्‍याउँदै आएको छ।

कृष्णपुरकी कमलादेवी खड्काले धानबाली भित्र्याएपछि १० कठ्ठा जमिनमा लगाएको बदाम खेती हात्तीको बथानले कुल्चेर पूर्ण रूपमा नष्ट गरेको छ। खेती जोगाउन लगाइएको तारजालीसमेत हात्तीले भत्काइदिएको उनले बताइन्। सोही ठाउँकी शारदादेवी चौधरीको बाख्राको खोरसमेत हात्तीले भत्काएको छ। गाउँका अधिकांश युवा रोजगारीका लागि भारत गएकाले घरमा रहेका महिला तथा बालबालिका थप असुरक्षित महसुस गरिरहेका छन्। स्थानीय सरिता चौधरीले माटोको कच्ची घर भएकाले रात पर्नासाथ हात्तीले घर भत्काउने डरले निदाउन नसकिएको गुनासो गरिन्।

हात्तीको बथान बस्ती पस्दा स्थानीयले थाल ठटाउने र होहल्ला गरेर धपाउने प्रयास गर्दै आएका छन्। हात्तीले धानबालीसहित उखु, केरा र अन्य तरकारी खेती नष्ट गर्दा किसानको आम्दानीमा प्रत्यक्ष असर परेको छ। मानव बस्ती विस्तारसँगै हात्तीको परम्परागत जैविक मार्ग आसपास मानवीय गतिविधि बढ्नु द्वन्द्वको मुख्य कारण मानिएको छ। जोखिमयुक्त बस्तीको दीर्घकालीन सुरक्षा, पूर्वसूचना प्रणाली र उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन स्थानीयले सरोकारवाला निकायसँग माग गरेका छन्।

spot_img

ताजा समाचार