महेन्द्रनगर । राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने सम्पूर्ण भौतिक संरचना तयार भइसकेका छन्। तर, भारतीय पक्षले टनकपुर ब्यारेजबाट नहरमा पानी नछाड्दा संरचना बनेको वर्षौँ बितिसक्दा पनि पानी सञ्चालन हुन सकेको छैन।
आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको छ। किसानका खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने थप आठवटा शाखा नहर निर्माणको अन्तिम चरणमा पुगेका छन्। नहरमा चार वर्षअघि नै परीक्षण सम्पन्न गरी टनकपुरबाट ल्याइएको पानीले धान दिवससमेत मनाइएको थियो। तर त्यसपछि भारतीय पक्षले नहरमा नियमित पानी छाडेको छैन।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक गणेश मरासिनीका अनुसार टनकपुरस्थित भारतको नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) ले दिल्लीको आदेश नआएसम्म पानी छाड्न नसकिने बताउँदै आएको छ। दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा आयोजनाको उद्घाटन भएपछि मात्रै नहरमा पानी नियमित छाड्ने अवस्था बनेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा यस विषयले प्राथमिकता पाए सन्धिअनुसारको पानी नेपालले पाउने अपेक्षा गरिएको छ। केही दिनअघि मात्रै काठमाडौँमा दुवै देशका अधिकारीबीच यस विषयमा छलफल भई प्राविधिक विवरणहरू उपलब्ध गराइएको आयोजनाले जनाएको छ।
महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरबाट नेपालको सीमासम्म निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माण गरिसकेको छ। सन्धिमा टनकपुर ब्यारेजबाट हिउँदमा तीन सय क्युसेक र वर्षात्मा एक हजार क्युसेक पानी नेपालले पाउने स्पष्ट उल्लेख छ। आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको यो आयोजनालाई २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएपछि कामले गति लिएको थियो।
मूल नहरसहित कुल १५१ किलोमिटर नहर निर्माण सम्पन्न भएपछि कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने लक्ष्य रहेको छ। हालसम्म आयोजनामा १० अर्ब ७४ करोड रुपियाँ बजेट खर्च भइसकेको छ भने चालु आर्थिक वर्षका लागि करिब दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ।






