एनपिएलले बढायो आर्थिक गतिविधि : डेढ अर्बको कारोबारको अनुमान

प्रकाशित मिति:
spot_img

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले मुलुकको खेल क्षेत्रसँगै समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको यस प्रतियोगिताले बजारमा आर्थिक गतिविधि ह्वात्तै बढाएको हो।

क्यानका अनुसार आठ फ्रेन्चाइज टोलीको सहभागिता, प्रायोजकको लगानी, प्रसारण अधिकार, खेलाडीको अनुबन्धन र टिकट बिक्रीबाट प्रतियोगिता अवधिभर करिब डेढ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष आर्थिक कारोबार हुने अनुमान गरिएको छ। क्यानका कोषाध्यक्ष पदम खड्काले क्यानका विभिन्न स्रोतबाट ७० देखि ७५ करोड रुपियाँ र फ्रेन्चाइज टोलीहरूले पनि सोही हाराहारीमा खर्च गर्ने भएकाले कुल कारोबार डेढ अर्ब पुग्ने बताउनुभयो। यस संस्करणमा क्यानले प्रायोजनबाट मात्रै २० करोड, प्रसारण अधिकारबाट करिब ३४ करोड र टिकट बिक्रीबाट ११ देखि १२ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

एनपिएलले खेलकुदसँगै पर्यटन, होटल, यातायात र रेस्टुरेन्ट व्यवसायलाई प्रत्यक्ष टेवा पुर्‍याएको छ। देश–विदेशबाट समर्थकहरू खेल हेर्न काठमाडौँ भित्रिँदा पाँचतारेदेखि साना होटलहरूको बुकिङ बढेको छ भने खेल हेर्न आउने दर्शकका कारण कीर्तिपुर आसपासका स्थानीय खाजा पसल, चिया–कफी र यातायात सेवाको कारोबारसमेत विस्तार भएको छ। यस पटकको प्रतियोगितामा विजेता टोलीले एक करोड ५० लाख, उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।

spot_img

ताजा समाचार