काठमाडौं । देशभरका उपभोक्तालाई जुनसुकै कम्पनीको खाना पकाउने एलपी ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा ग्यासको कृत्रिम अभाव, कालोबजारी र सिलिन्डर साट्दा उपभोक्ताले भोग्नुपरेको हैरानी अन्त्य गर्न खाली सिलिन्डर दिएर जुनसुकै कम्पनीको सिलिन्डर लिन पाउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

उद्योगी र डिलरहरूको मिलेमतोमा बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई नयाँ सिलिन्डर महँगोमा किन्न बाध्य पारिएको रिटमा जिकिर गरिएको छ। यस्तो कार्यबाट संविधानको धारा १६ ले प्रत्याभूत गरेको ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ र धारा ४४ ले व्यवस्था गरेको गुणस्तरीय वस्तु तथा सेवा पाउने उपभोक्ताको मौलिक अधिकार हनन भएको निवेदकको दाबी छ।
सरकारले ग्यासलाई अत्यावश्यक वस्तुको सूचीमा राखेको भए पनि चाडपर्वका बेला समेत हुने कालोबजारीले विद्यार्थी, मजदुर तथा सर्वसाधारण प्रत्यक्ष मारमा परेको उल्लेख गर्दै रिटमा जुनसुकै कम्पनीको ग्यास तत्काल साट्न पाउने व्यवस्था मिलाउन अन्तरिम आदेश माग गरिएको छ। एउटै व्यक्ति तथा परिवारले दर्जनौँ उद्योग सञ्चालन गरी सिन्डिकेट चलाएकाले त्यसलाई रोक्नुपर्ने निवेदकको माग छ। उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ।







