महेन्द्रनगर । बाजुराका दुई प्रमुख खोलामा पुल निर्माणको जिम्मा लिएर लामो समयसम्म काम अलपत्र पार्ने ठेकेदार कम्पनी कारबाहीमा परेको छ। बुढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने मौरे खोला तथा बडीमालिका नगरपालिकास्थित ठुलीसाँगु खोलामा पुल निर्माण अलपत्र पार्ने बिकोई बिल्डर्स प्रालि (काठमाडौँ) माथि कानुनी कारबाही अघि बढाइएको हो।

कम्पनीले २०७८ माघ ११ गते मौरे खोला पुलका लागि १६ करोड २१ लाख ७८ हजार रुपियाँमा र २०७७ फागुन १० गते ठुलीसाँगु खोलामा ३० मिटर लामो पक्की पुल निर्माणका लागि महाकाली पुल योजना कार्यालय, महेन्द्रनगरसँग १६ करोड २१ लाख रुपियाँमै सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८१ सालभित्र काम सम्पन्न नगरेपछि योजना कार्यालयले कम्पनीलाई कालोसूचीमा राखेको थियो। सो निर्णयविरुद्ध कम्पनी उच्च अदालत पुगेको भए पनि अदालतले योजना कार्यालयकै पक्षमा फैसला सुनाएको थियो।
अदालतको फैसलासँगै कम्पनीमाथिको कारबाही प्रक्रिया अगाडि बढाइएको र अब ती दुवै पुल निर्माणको काम नेपाल सरकारले आफ्नै संयन्त्रमार्फत अघि बढाउने तयारी गरेको महाकाली पुल योजना कार्यालयका प्रमुख राजेशकुमार यादवले जानकारी दिनुभयो। करिब ३४ करोड रुपियाँ लागत अनुमान गरिएका यी पुल निर्माणका लागि केही दिनभित्रै प्रक्रिया सुरु हुने बताइएको छ। पुल नबन्दा त्रिवेणी नगरपालिका, बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका बासिन्दाले वर्षायाममा सास्ती खेप्दै आएका छन्।







