सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, पर्वतीय उड्डयन सुरक्षामाथि गम्भीर प्रश्न

प्रकाशित मिति:
spot_img

काठमाडौं । सोलुखुम्बुको फेरिचेमा मङ्गलबार बिहान अवतरणका क्रममा दुई हेलिकोप्टर आकाशमै आपसमा ठोक्किएर दुर्घटना भएपछि नेपालको पर्वतीय उड्डयन सुरक्षामाथि पुनः गम्भीर प्रश्न उठेको छ।

लुक्लाबाट कार्गो लिएर गएको डायनेस्टी एयर र गोरक्षेपबाट यात्रु बोकेर आएको फिस्टेल एयरका हेलिकोप्टर एउटै समय र दिशामा अवतरण गर्ने क्रममा पङ्खा आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा जमिनबाट मार्सलरले दिएको निर्देशन चालकदलले अवज्ञा गरेको र हतारमा अवतरण गर्न खोज्दा समन्वय अभाव देखिएको छ। फेरिचे क्षेत्र लुक्ला विमानस्थलको हवाई यातायात नियन्त्रण (एटीसी) टावरको प्रत्यक्ष निगरानीबाहिर पर्ने भएकाले पाइलटहरूले आफ्नै सञ्चार समन्वयमा अवतरण गर्नुपर्ने हुन्छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले दुर्घटनाबारे प्राविधिक जाँच तथा अनुसन्धान सुरु भइसकेको बताउनुभयो। उहाँका अनुसार चालकदलको बयान, उडान अभिलेख र सञ्चार विवरणको विश्लेषणपछि यथार्थ कारण बाहिर आउनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै दुर्घटनाको यथार्थ पत्ता लगाई आवश्यक सुधारात्मक कदम चालिने स्पष्ट पारेको छ। प्राधिकरणको सुरक्षा प्रतिवेदन अनुसार नेपालमा २०३६ सालयता भएका ४१ वटा हेलिकोप्टर दुर्घटनामा ९८ जनाले ज्यान गुमाइसकेका छन्।

spot_img

ताजा समाचार