काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मङ्सिरमा हुने भनिएको भारत भ्रमणको औपचारिक तयारी दुवै देशमा तीव्र पारिएको छ। भ्रमणको गृहकार्यका लागि भारतीय विदेश सचिव बुधबार काठमाडौँ आउँदै हुनुहुन्छ।

भारत सरकारले मङ्सिर ७, ८ र ९ गतेलाई सम्भावित मिति प्रस्ताव गरेर आवश्यक तयारी अगाडि बढाएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार दुवै देशको अनुकूलतामा भ्रमणको अन्तिम मिति छिट्टै घोषणा गरिनेछ। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भ्रमणलाई औपचारिकतामा मात्र सीमित नराखी दीर्घकालीन विकास साझेदारी र परिणाममुखी बनाउन प्राथमिकता दिइएको बताउनुभएको छ।
भ्रमणका क्रममा व्यापार तथा पारवहन, ऊर्जा, सीमा व्यवस्थापन, हवाई तथा स्थल सम्पर्क सञ्जाल विस्तार र विपत्पछिको पुनर्निर्माणका विषय मुख्य एजेन्डाका रूपमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। सन् २००९ को व्यापार सम्झौताका केही बुँदा परिमार्जन गर्ने विषयमा समेत छलफल हुनेछ। साथै, काभ्रेको पनौतीस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठान (प्रहरी एकेडेमी) लगायत दुई देशको साझेदारीमा बनेका परियोजनाहरूको संयुक्त उद्घाटन तथा वित्तीय सहयोग प्याकेजबारे उच्चस्तरीय समझदारी हुने तयारी छ।







