इनम सापकोटा प्रकरणमा राज्य व्यवस्था समितिको बैठक बोलाउन विपक्षी दलहरूको माग

प्रकाशित मिति:
spot_img

काठमाडौं । विपक्षी दलहरूले इनम सापकोटा प्रकरण र पछिल्ला घटनाक्रमबारे छलफल गर्न प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आकस्मिक बैठक बोलाउन माग गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समितिका सभापति हरि ढकाललाई छुट्टाछुट्टै पत्र बुझाउँदै बैठक माग गरेका हुन्।

नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले बुझाएको पत्रमा हिरासतमा रहेका व्यक्तिको अडिओ सार्वजनिक भएको विषय, पत्रकार पक्राउ र रिहाइ प्रकरण तथा सरकारको अस्पष्ट भूमिकाबारे गम्भीर प्रश्न उठाइएको छ। यस्तै, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको अभिव्यक्ति, हिरासतमा रहेका व्यक्तिको मोबाइल सल्लाहकारको निवासमा फेला परेको भनिएको विषय र सरकार तथा प्रहरी नेतृत्वबीच देखिएको असमझदारीबारे गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी) लाई समितिमा उपस्थित गराएर जवाफ माग्नुपर्ने माग पत्रमा गरिएको छ।

विपक्षी दलहरूले सरकारलाई संसद् र संसदीय समितिप्रति जवाफदेही बनाउन तत्काल बैठक डाक्नुपर्नेमा जोड दिएका छन्। यसअघि विपक्षी दलहरूले यही प्रकरणलाई लिएर तत्काल संसद्को विशेष वा नियमित अधिवेशन आह्वान गर्नसमेत सरकारसमक्ष माग गरिसकेका छन्।

spot_img

ताजा समाचार