काठमाडौं । सरकारले नेपाल प्रहरीको ३४ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीलाई नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालिरहनुभएका डा. केसीलाई प्रहरीको सर्वोच्च पदमा पदोन्नति गर्ने निर्णय गरेको हो।

यसअघि ३३ औँ आईजीपीका रूपमा कार्यरत दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी सुम्पिएको छ। उच्च पदस्थ जोडिएका संवेदनशील अनुसन्धान फाइल, मन्त्रिपरिषद्का रणनीति तथा राज्यका महत्वपूर्ण सूचनाहरू बाहिर चुहिएको विषयमा सरकार र निवर्तमान आईजीपी कार्कीबीच पछिल्लो समय सम्बन्ध चिसिएको थियो। शासकीय तहमा अविश्वास बढेपछि सरकारले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेर कार्कीलाई सल्लाहकारको भूमिकामा पठाउने निर्णय गरेको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका जटिल र हाइ प्रोफाइल अपराधको निष्पक्ष अनुसन्धान गरेर व्यावसायिक छविसहित चर्चामा आउनुभएका नवनियुक्त आईजीपी डा. केसीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको कमान्डसमेत कुशलतापूर्वक सम्हालिसक्नुभएको छ। नवनियुक्त महानिरीक्षक डा. केसीले आजैदेखि प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर नेतृत्व सम्हाल्ने तयारी गर्नुभएको छ।







