काठमाडौं । पदयात्रा अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लगेको ठहर गर्दै अध्यागमन विभागले एक ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ।
विभागले कानुनी प्रक्रिया मिचेर पर्यटक घुमाएको अभियोगमा गरिमा भोयज ट्राभल्स एन्ड ट्रेक्स प्रालिलाई कारबाही गरेको हो। बेल्जियमका दुई नागरिकलाई आवश्यक अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लगेको र स्थानीय प्रशासनको निर्देशन अवज्ञा गरेको भन्दै जिल्ला प्रशासन कार्यालय डोल्पाले लेखेको पत्रका आधारमा विभागले कारबाही अघि बढाएको थियो। कम्पनीले प्रचलित नियम उल्लङ्घन गरेको पुष्टि भएपछि अध्यागमन ऐन, २०४९ को दफा १० को उपदफा (४) अनुसार जरिवाना गरिएको विभागले जनाएको छ।

विभागले विदेशी पर्यटकलाई पदयात्रामा लैजानुअघि अनिवार्य रूपमा आवश्यक अनुमति लिन, तोकिएको पदमार्ग, अवधि र सर्तहरूको पूर्ण पालना गर्न ट्रेकिङ एजेन्सी, पथप्रदर्शक तथा व्यवसायीलाई आग्रह गरेको छ। अनुमतिविपरीत अन्यत्र लैजाने वा निर्देशन अवज्ञा गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।







