बैतडी । बैतडीको मेलौली नगरपालिका–१ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित छ जना घाइते भएका छन्।
डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १६३८ नम्बरको जिप गए राति करिब आठ बजे अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित सात जना सवार रहेकोमा घाइतेहरूलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको थियो। उपचारका क्रममा राति आठ बजेर ३५ मिनेटमा पञ्चेश्वर गाउँपालिका–२ बस्ने ३५ वर्षीया सुना मङ्गोलाको मृत्यु भएको छ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ का २२ वर्षीया सोमनी मङ्गोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करनसिंह मङ्गोला, २२ वर्षीय सुनिल बस्केल तथा ३६ वर्षीय चालक सन्तोष राम लुहार घाइते भएका छन्। घाइतेमध्ये सोमनी, अविनास, निरज र चालक सन्तोषको अवस्था मध्यम तथा करनसिंह र सुनिलको अवस्था सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।







