काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले बलिङ रोज्दै सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ। आजको खेलमा विजयी हुने टोली सिधै प्लेअफ चरणमा प्रवेश गर्नेछ।
महत्त्वपूर्ण खेलका लागि दुवै टोलीले आफ्नो सुरुवाती ११ (प्लेइङ सेट) मा दुई–दुई परिवर्तन गरेका छन्। सुदूरपश्चिम रोयल्सले अभिनाश बोहराको स्थानमा दीपक बोहरा तथा सैफ जैबको स्थानमा वेस्ट इन्डिजका फाबियन एलनलाई मैदान उतारेको छ।
यसैगरी, काठमान्डु गोर्खाजले अस्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र विलियम बोसिस्टोको स्थानमा श्रीलङ्काका दुसान हेमन्था तथा अस्ट्रेलियाका साम हिजलेटलाई पहिलो रोजाइमा स्थान दिएको छ।







