डडेल्धुरा । सुदूरपश्चिमको मौलिक संस्कृति, धार्मिक आस्था र परम्पराको पहिचान बोकेको डडेल्धुराको प्रसिद्ध बडाल जाँत आगामी मंसिर ४ गते लाग्ने भएको छ। गन्यापधुरा गाउँपालिका–२ स्थित बडालमा मंसिर ३ गते राति ‘रतेडी’ र ४ गते दिउँसो मुख्य मेला अर्थात् ‘दिउसेडी’ आयोजना गरिने भएको हो।

लाटागन्याप देवताको भक्तिस्वरूप चौलो खेलिने बडाल जाँत परम्परागत बाजागाजा, ढालतरबार नाच र धार्मिक विधिका कारण सुदूरपश्चिममै विशेष महत्त्व राख्ने मेलाका रूपमा परिचित छ। शुक्ल नवमीको राति देवताको पूजा गरी जाग्राम बस्ने र भोलिपल्ट बिहान लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ। मेलामा दाइन, दमाहा, रुइसिङ र भोक्करलगायत परम्परागत बाजाको तालमा देवलका भाला, गुर्जा, खुकुरी तथा ढालतरबार प्रदर्शन गर्दै चौलो नाच्ने र गाँज नचाउने परम्परा छ।

जाँतमा कुजाकोट, रुमायल, बडाल र थप्साललगायत आसपासका विभिन्न गाउँबाट देउरो ल्याउने चलन रहे पनि मुख्य देउरो भने मालीगाउँबाट ल्याइन्छ। धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै मेलाले स्थानीय हस्तकलाका सामग्री तथा कृषि उपजको किनबेच र साटासाटमार्फत स्थानीय उत्पादनको व्यापार तथा बजारीकरणमा समेत योगदान पुर्याउँदै आएको गन्यापधुरा गाउँपालिकाले जनाएको छ।






