गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा पुनः अन्योल, संघर्ष समिति आन्दोलित हुने चेतावनी

प्रकाशित मिति:
spot_img

धनगढी । कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालनको प्रक्रिया अघि बढिसकेको अवस्थामा सरकारले पुनः छानबिन र पदाधिकारी नियुक्तिको प्रक्रिया थालेपछि अन्योल सिर्जना भएको छ । प्रा. डा. गोविन्द केसीसँग भएको छबुँदे सहमतिअनुसार सरकारले छानबिन समिति गठन गरेपछि चालु शैक्षिक सत्रमै पठनपाठन सुरु हुने वा नहुने भन्ने प्रश्न खडा भएको हो ।

विश्वविद्यालय सञ्चालनको विषयलाई लिएर सोमबार विश्वविद्यालयका पदाधिकारी, गेटा विश्वविद्यालय संघर्ष समिति र कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाबिच अन्तरक्रिया भएको छ । कार्यक्रममा सहभागी पदाधिकारी र संघर्ष समितिका प्रतिनिधिहरूले चिकित्सा शिक्षा आयोगले अनुगमन गरी नब्बे सिट निर्धारण गरिसकेको अवस्थामा पुनः छानबिन सुरु गर्नु अनुचित भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेले वर्षौंदेखिको सुदूरपश्चिमवासीको सपना पूरा हुने चरणमा पुगेका बेला फेरि अवरोध सिर्जना गरिएको आरोप लगाउनुभयो । सबै प्रक्रिया पूरा भइसकेको विषयमा पुनः छानबिनका नाममा पठनपाठन रोकिए सडक आन्दोलनदेखि अनशन बस्नसमेत बाध्य हुने संघर्ष समितिले चेतावनी दिएको छ ।

अन्तरक्रियामा विश्वविद्यालयका उपकुलपति सुनिलकुमार जोशी र रजिस्ट्रार भीम चन्दले आफूहरूलाई पदको लोभ नभएको स्पष्ट पार्दै पदाधिकारी विवादभन्दा विश्वविद्यालयको पठनपाठन सञ्चालनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । पर्याप्त पूर्वाधार हुँदाहुँदै विश्वविद्यालय सञ्चालन नहुनु दुर्भाग्यपूर्ण हुने उहाँहरूको भनाइ छ ।

सोही क्षेत्रका सांसद खेमराज कोइरालाले आधिकारिक निकायबाट सिट निर्धारण भइसकेको विश्वविद्यालयमा पुनः अन्योल सिर्जना गर्नु उचित नभएको बताउनुभयो । काठमाडौँ फर्किएलगत्तै प्रधानमन्त्री, शिक्षामन्त्री र पार्टी सभापतिलाई भेटेर गेटा विश्वविद्यालयको पठनपाठन तत्काल अघि बढाउन पहल गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

spot_img

ताजा समाचार