१८ औँ युनाइटेड कप २०८३ को तयारी तीव्र, विजेताले नगद १ लाख पाउने

प्रकाशित मिति:
spot_img

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा १८ औँ युनाइटेड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरामा रहेको युनाइटेडबिच युवा क्लबले यही मङ्सिर २३ गतेदेखि २७ गतेसम्म वडास्तरीय युनाइटेड कप २०८३ आयोजना गर्ने जनाएको हो ।

सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट गर्दै क्लबका अध्यक्ष भक्तबहादुर गुरुङले घनपोखरास्थित केकेम खेल मैदानमा हुने प्रतियोगितामा आयोजकसहित मर्स्याङ्दी गाउँपालिकाका ९ वटै वडाबाट गरी १० टोलीको सहभागिता रहने जानकारी दिए ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख रुपैयाँ र खसी तथा द्वितीय पुरस्कार नगद ६० हजार रुपैयाँ र खसी रहेको छ । यस्तै, सेमिफाइनलसम्म पुग्ने दुई टोलीलाई जनही १५ हजार, अनुशासित टोलीलाई १० हजार तथा सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

करिब ८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितासँगै भेट्रान्स फुटबल, महिला–पुरुष डोरी तान्ने, कुर्चीचाल तथा सेर्का नाच, कृष्ण चरित्र र झाँकी प्रदर्शनीलगायत सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुने क्लबका सचिव पुष्पराज गुरुङले बताए ।

spot_img

ताजा समाचार