काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री शाह यही मङ्सिर ६ र ७ गते (आइतबार र सोमबार) दुईदिने औपचारिक भ्रमणका लागि भारत जाँदै हुनुहुन्छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः१५ बजे नयाँ दिल्ली पुग्नुहुनेछ । भ्रमणको पहिलो दिन आइतबार साँझ ६ बजे होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ ।
भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत (‘गार्ड अफ अनर’) प्रदान गरिनेछ । त्यसपछि उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ ।
लगत्तै हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिच द्विपक्षीय भेटवार्ता हुने जनाइएको छ । वार्तापछि मध्यान्ह १२ः२५ बजे दुई देशबिचका सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन आयोजना हुनेछ ।
सोही दिन दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेपछि प्रधानमन्त्री शाह दिउँसो ४ः५० बजे स्वदेश फर्कनुहुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।






