काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपिएल) का आठवटै क्लबका लागि फ्लडलाइटयुक्त क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गर्नुभएको छ । एनपिएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले शनिबार साँझ सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटको पूर्वाधार विकाससम्बन्धी महत्त्वपूर्ण योजना सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्री शाहका अनुसार एनपिएलको छैटौँ संस्करणदेखि प्रतियोगितालाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सरकारले आठवटै रङ्गशाला निर्माण गर्न लागेको हो । ती सबै रङ्गशाला सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ ।
सुदूरपश्चिम रोयल्सको घरेलु मैदानका रूपमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै उहाँले आगामी तीन महिनाभित्र अन्य सबै रङ्गशालाको निर्माण प्रक्रिया सुरु गरिने जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री शाहले सार्वजनिक गर्नुभएको प्रस्तावित घरेलु मैदानअनुसार विराटनगर किङ्ग्सका लागि बैजनाथपुर क्रिकेट रङ्गशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रङ्गशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रङ्गशाला र काठमाडौँ गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान रहनेछन् ।
आठवटै क्लबका आफ्नै सुविधायुक्त रङ्गशाला निर्माण भएपछि देशभर क्रिकेट गतिविधि विस्तार हुनुका साथै प्रतियोगितालाई व्यावसायिक रूपमा ‘होम एन्ड अवे’ ढाँचामा लैजान सहज हुने अपेक्षा गरिएको छ ।






