काठमाडौं । माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई सीधा रेलमार्गले जोड्ने नयाँ रेल सेवा आज (सोमबार) देखि औपचारिक रूपमा सुरु हुँदै छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा ‘नयाँ वन्दे भारत एक्सप्रेस’ रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको हो ।
उत्तर रेल्वे, लखनउ, मण्डल रेल प्रबन्धक कार्यालयका अनुसार अयोध्या रेल्वे स्टेसनमा आयोजित विशेष समारोहमा दिउँसो हरियो झन्डा देखाएर सेवा सुरु गरिनेछ । भारतीय प्रेस इन्फर्मेसन ब्यूरो (पिआइबी) का अनुसार करिब ६०४ किलोमिटर दूरी तय गर्ने यो साप्ताहिक रेल सेवाले बिहार र उत्तर प्रदेशका प्रमुख सहर हुँदै दुई ऐतिहासिक धार्मिक नगरीलाई जोड्नेछ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सुरुवाती चरणमा सातामा एकपटक सञ्चालन हुने रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुटी आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ । यस्तै, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ । यात्रुको सुविधाका लागि जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी तोकिएका छन् ।
धार्मिक पर्यटन र व्यापार विस्तारको अपेक्षा रामायण सर्किटको अवधारणालाई साकार पार्न सघाउने यस रेल सेवा सुरु हुने भएपछि जनकपुरधामका सरोकारवाला र राजनीतिक दलका नेताहरूले खुसी व्यक्त गरेका छन् । रास्वपा धनुषाका नेता अम्बुप्रसाद साहले जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्र बनाउन र मधेस प्रदेशको कृषि, उद्योग तथा व्यापार विस्तारमा रेल सेवा कोसेढुङ्गा साबित हुने बताए ।
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकी मन्दिर र मिथिला संस्कृतिलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न यसले मद्दत पुग्ने उल्लेख गर्दै पर्यटकमैत्री पूर्वाधार र सरसफाइमा ध्यान दिन सुझाव दिए । यस्तै, जसपा धनुषाका अध्यक्ष पशुपति यादव र नेकपा धनुषाका संयोजक दीपक यादवले सेवालाई नियमित र प्रभावकारी बनाउन प्रशासनिक समन्वय आवश्यक रहेको औँल्याउँदै यसले रोजगारी सिर्जनाका नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे ।






