काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय भेटवार्ता सुरु भएको छ । नयाँदिल्लीस्थित हैदराबाद हाउसको नीलगिरि हलमा सोमबार मध्याह्न दुई देशका प्रधानमन्त्रीबिच भेटवार्ता सुरु भएको हो ।
भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन् । यस्तै, भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशङ्करसहित उच्च सरकारी अधिकारीको सहभागिता छ । यसअघि हैदराबाद हाउस परिसरमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए ।
लगत्तै नेपाल र भारतबिच प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानमन्त्री शाह भारतीय समकक्षी मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आजै राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि सोमबार बिहान राष्ट्रपति भवनमा भारतीय सेनाको टुकडीले प्रधानमन्त्री शाहको सम्मानमा सम्मान गारत (गार्ड अफ अनर) अर्पण गरेको थियो ।






