दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड बजेट माग

प्रकाशित मिति:
spot_img

काठमाडौं । महाकाली नदीको बाढीले क्षति पुर्‍याएको कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पाँच करोड रुपियाँ बजेट माग गरिएको छ । गत असोज १४ गते आएको बाढीले पुलको एउटा स्तम्भ (पिल्लर) भत्काएपछि भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने उक्त पुलमा आवागमन पूर्ण रूपमा बन्द छ ।

सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीका अनुसार पुल पुनर्निर्माणको प्रारम्भिक काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग पाँच करोड रुपियाँ माग गरिएको हो । भत्किएको पिल्लर वरपर अझै पानी बगिरहेकाले माटो परीक्षण तथा विस्तृत लागत प्रतिवेदन (डिपिआर) तयार पार्न कठिनाइ भएको बताउँदै बुढाथोकीले नदीमा पानीको सतह घटेपछि प्राविधिक अध्ययन पूरा गरी ठेक्का प्रक्रियामा जाने जानकारी दिए ।

यसअघि सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा खटिएको दुई सदस्यीय प्राविधिक टोलीले स्थलगत अध्ययन गरी पुलमा करिब सात करोड रुपियाँ बराबरको क्षति भएको र पुनर्निर्माणका लागि २० करोड रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । टोलीले ढलेको पिल्लरसँगै दायाँ–बायाँका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको औँल्याएको छ । मुलुककै प्रमुख पर्यटकीय गन्तव्यसमेत मानिने उक्त पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ ।

spot_img

ताजा समाचार