‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ आजदेखि १६ दिने अभियान सञ्चालन हुँदै

प्रकाशित मिति:
spot_img

काठमाडौँ, आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ।

महिला तथा बालिकामाथि हुने हिंसा मानवअधिकार उल्लङ्घनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि बलियो कानुनी व्यवस्था, न्यायमा सहज पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ।

यसैबिच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको डरलाग्दो तथ्य सार्वजनिक भएको छ। राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र संयुक्त राष्ट्रसङ्घीय महिला निकाय (युएन वुमन) को प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। यो सङ्ख्या दैनिक औसत १३७ हो।

प्रतिवेदनले हत्यालाई महिला तथा बालिकामाथि हुने हिंसाको सबैभन्दा चरम अवस्थाका रूपमा चित्रण गरेको छ। यस्ता घटना प्रायः लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिएको प्रतिवेदनले औँल्याएको छ।

दिवसको पृष्ठभूमि र कानुनी प्रयास महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले विभिन्न नीतिगत प्रयास गर्दै आएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड) पारित गरेको थियो भने सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो।

महिला अधिकारकर्मीहरूले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन्। सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको हो। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गरी नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएयता सदस्य राष्ट्र तथा सरोकारवाला निकायहरूले यस दिन विविध सचेतनामूलक कार्यक्रम गर्दै आएका छन्।

आजैदेखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सुरु भएको छ। अभियानले सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायको सामूहिक प्रयास अपरिहार्य रहेको सन्देश प्रवाह गर्दै आएको छ।

राष्ट्रसङ्घीय नेतृत्वको आह्वान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा सबै देश र समुदायलाई प्रभावित पार्ने विश्वव्यापी लज्जाको विषय भएको उल्लेख गर्नुभएको छ। उहाँले हिंसाको अन्त्यका लागि न्याय सुनिश्चित गर्न, रोकथामका प्रयासलाई तीव्र बनाउन तथा हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रयको व्यवस्था गर्न सरकारहरूलाई आग्रह गर्नुभएको छ। साथै, हिंसासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा उहाँले जोड दिनुभएको छ।

यसै अवसरमा राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय उपलब्ध गराउन तथा दोषीलाई जवाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ।

spot_img

ताजा समाचार