काठमाडौँको टेकुमा फोहोरबाट बायोग्यास उत्पादनको परीक्षण सुरु

प्रकाशित मिति:
spot_img

काठमाडौं । राजधानीको फोहोर व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौँ महानगरपालिकाको सहकार्यमा टेकु दोभानमा फोहोरबाट बायोग्यास उत्पादन गर्ने प्लान्टको परीक्षण उत्पादन सुरु गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बिहीबार संयुक्त रूपमा उक्त प्रणालीको शुभारम्भ गरेका हुन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालका अनुसार करिब एक करोड ८४ लाख रुपियाँको लागतमा पुनः सञ्चालनमा ल्याइएको यस प्लान्टले दैनिक तीन मेट्रिक टन जैविक फोहोर प्रशोधन गरी छ वटा एलपिजी सिलिन्डर बराबरको बायोग्यास उत्पादन गर्ने क्षमता राख्छ । सोही प्रक्रियाबाट करिब तीन टन प्राङ्गारिक मलसमेत उत्पादन हुने छ ।

विद्युत् उत्पादन गर्ने जटिल प्राविधिक प्रक्रियाको सट्टा सिधै बायोग्यास उत्पादनमा केन्द्रित भएकाले यो प्रणाली उपत्यकाबाहिरका अन्य नगरपालिकामा समेत विस्तार गर्न सहज हुने कार्यकारी निर्देशक ढकालले बताए ।

काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी निमित्त प्रमुख सरिता राईका अनुसार महानगरभित्र दैनिक ६०० देखि ८०० मेट्रिक टन फोहोर उत्सर्जन हुने गरेको छ, जसमध्ये करिब ६० प्रतिशत जैविक फोहोर छ । नमुना परियोजनाका रूपमा सुरु गरिएको यस प्लान्टबाट उत्पादित ग्यास घरायसी वा व्यावसायिक कुन प्रयोजनमा कसरी वितरण गर्ने भन्ने प्रारूप र पाइपलाइन पूर्वाधार निर्माण गर्न अझै केही समय लाग्ने उनले जानकारी दिइन् ।

सन् २०१७ मा युरोपेली सङ्घको सहयोगमा टेकुमा जडान भई दुई महिना चलेर बन्द भएको उक्त प्रणालीलाई गत साउनमा केन्द्र र महानगरबिच भएको सम्झौताअनुसार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो ।

spot_img

ताजा समाचार