कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा ग्लोबल डेरीले दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र विस्तार गरेको छ । लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित इमलियामा केन्द्रीय उद्योग रहेको उक्त डेरीले कैलालीका तीन र कञ्चनपुरका दुई स्थानमा गरी पाँचवटा केन्द्र सञ्चालनमा ल्याएको हो ।

डेरीका प्रबन्ध निर्देशक जनक न्यौपानेका अनुसार कैलालीको टीकापुर, पहलवानपुर र गुलरा तथा कञ्चनपुरको पुनर्वास नगरपालिका–१ स्थित हुलाकी राजमार्गको ढक्का र भीमदत्त नगरपालिका–५, ऐठपुरमा दुग्ध सङ्कलन केन्द्र विस्तार गरिएको छ । प्रत्येक चिस्यान केन्द्रमा पाँच हजार चार सय लिटर दुध भण्डारण गर्ने क्षमता रहेको र सुदूरपश्चिममा कुल २५ देखि ३० हजार लिटर क्षमताको भण्डारण सुविधा विस्तार भएको उनले जानकारी दिए ।

सीमावर्ती क्षेत्रका किसानले बजार नपाएर भारतीय बजारमा सस्तो मूल्यमा दुध बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य गर्न केन्द्र विस्तार गरिएको प्रबन्ध निर्देशक न्यौपानेले बताए । सरकारले तोकेको मूल्यमा दुध खरिद गरी प्रत्येक १५ दिनमा किसानलाई भुक्तानी दिइने र गुणस्तर मापनका लागि ‘मिल्क एनालाइजर’ मेसिनको प्रयोग गरिने उनले जानकारी दिए ।

कपिलवस्तुमा दैनिक अढाई लाख लिटर दुध खपत हुने धुलो दुध कारखाना सञ्चालनको तयारीमा रहेको डेरीले पश्चिम नेपालका ९४ स्थानमा सङ्कलन केन्द्र विस्तार गरिसकेको छ । मागअनुसार डडेलधुरा र डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सङ्कलन केन्द्र विस्तार गर्ने तथा निकट भविष्यमै धनगढीमा प्रशोधनसहितको बिक्री केन्द्र खोल्ने योजना रहेको न्यौपानेले बताए ।
सङ्कलन केन्द्र सञ्चालनमा आएपछि स्थानीय दुग्ध उत्पादक किसान र सहकारी संस्था उत्साहित भएका छन् । खप्तड सहकारीका अध्यक्ष पूर्णसिंह साउद र सृजना सहकारी संस्था दोधाराका दुध सङ्कलन संयोजक गोविन्द भट्टले स्थलगत अनुगमनपछि किसानबाट सङ्कलित दुध डेरीलाई बिक्री गर्न थालिएको बताउँदै यसले हिउँदयाममा दुध खपत नहुने तथा भारतीय बजारमा सस्तोमा बेच्नुपर्ने समस्या समाधान हुने विश्वास व्यक्त गरे । स्थानीय अगुवा धनानन्द लेखक र सरस्वती रावलले भण्डारण केन्द्र स्थापनासँगै किसानले न्यायोचित मूल्य पाउने र व्यावसायिक पशुपालनमा आकर्षण बढ्ने बताए ।






