काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनलाई लक्ष्य गर्दै मतदाता नामावली अद्यावधिक तथा मतदान स्थल पुनरवलोकनलगायत प्रशासनिक र व्यवस्थापकीय पूर्वतयारी तीव्र पारेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदान स्थललाई सबै मतदाताका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यले दुई साताअघिदेखि देशभरका १० हजार ९६७ मतदान स्थल पुनरवलोकनको काम अघि बढाइएको हो । विगतका निर्वाचनमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न समस्या भएको गुनासो आएकाले निर्वाचनको मिति घोषणा हुनुअघि नै मतदान स्थल पुनरवलोकन निर्देशिकाअनुसार काम थालिएको उनले जानकारी दिए ।
प्रवक्ता भट्टराईका अनुसार स्थानीय पालिकाको वडा तहमा वडाध्यक्षको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरी हाल कायम मतदान स्थल उपयुक्त भए–नभएको समीक्षा गरिने छ । मतदान स्थल अपायक परेको, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई पुग्न कठिन भएको वा अन्य व्यावहारिक समस्या देखिएको अवस्थामा वडा तहबाट जिल्लामा सिफारिस पठाइने छ ।
त्यसपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा राजनीतिक दल तथा सरोकारवालासँग छलफल गरी जिल्लाबाट अन्तिम सिफारिस आयोगमा आउने छ । जिल्लाबाट प्राप्त सिफारिसको अध्ययन गरी मतदान स्थल परिवर्तन गर्ने वा नगर्ने अन्तिम निर्णय आयोगले गर्ने भट्टराईले बताए ।
स्थानीय तह निर्वाचनका साथै सङ्घीय र प्रदेश निर्वाचनलाई समेत लक्ष्य गरेर मतदान स्थल पुनरवलोकन गरिएको आयोगले जनाएको छ । एक पटक उपयुक्त स्थान निर्धारण भएपछि विभिन्न तहका निर्वाचनमा समेत त्यही स्थल प्रयोग हुने भएकाले समग्र निर्वाचन प्रणालीलाई ध्यानमा राखेर प्रक्रिया अघि बढाइएको प्रवक्ता भट्टराईले स्पष्ट पारे ।






